दैलेखः आज माघे संक्रान्ति, माघी नुहाउने प्रचलन पनि नेपालमा धेरै छ । बिशेष गरेर थारु समुदायको महान् चाड को रुपमा माघी पर्वलाई लिईन्छ ।
यो पर्व मगर समुदाय लगायत अन्य समुदायहरुले समेत धुमधामले मनाउने गर्दछन् । पहाडी क्षेत्रमा माघीका बेलामा मेला लाग्ने गर्दछ । बिशेष गरे कन्दमुलक पकाउने, सेवन गर्ने काम माघी पर्वमा हुने गर्दछ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश भएकोले पनि विभिन्न पर्वहरुले आपसी सद्भाव कायम गर्नै गर्दछ ।
अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान भएकोले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरु रहेका छन् । यी चाडपर्वहरुले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्न भिन्न भेग र समुदायमा भिन्न भिन्न ढंगले मनाउने प्रचलन समेत रहेको छ । यो पर्व यसको उदाहरण समेत हो । माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मूख्य चाडको रुपमा धुमधामका साथ मनाउँछन् भने नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, आदि सबै जातजातिले यस पर्वलाई आ–आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।






